Rule 32
प्रमाणपत्र जारी गर्ने
(१) नियम ३१ बमोजिम परेको निवेदन उपर जाँचबुझ गर्दा निवेदकलाई प्रमाणपत्र प्रदान गर्न मनासिव देखिएमा प्रमाणीकरण गर्ने निकायले देहायको प्रक्रिया पूरा गरी अनुसूची–६ बमोजिमको ढाँचामा प्रमाणपत्र जारी गर्नेछ ः-
(क) नयाँ प्रमाणपत्र सृजना गरेको हुनु पर्ने,
(ख) प्रमाणपत्रमा जोडी साँचो संलग्न हुनु पर्ने,
(ग) सार्वजनिक साँचो उपलब्ध गराएको हुनु पर्ने ।
(२) उपनियम (१) बमोजिम निवेदकलाई प्रमाणपत्र जारी गर्नु अघि त्यसमा उल्लेख गरिएका विवरण सही भए वा नभएको जाँच गर्ने अवसर निवेदकलाई दिनु पर्नेछ र निवेदकले जाँच गरी सही भएको व्यहोरा जनाएमा निवेदकबाट प्रमाणपत्र वापत एकसय रूपैयाँ शुल्क लिई त्यस्तो निवेदकलाई प्रमाणपत्र जारी गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम जारी गरिएको प्रमाणपत्रमा डिजिटल हस्ताक्षर अभिलिखित गरिएको एक वा सो भन्दा बढी अभिलेखालयको सूचना समावेश हुनु पर्नेछ र त्यस्तो प्रमाणपत्र रद्द वा निलम्बन गरेको अवस्थामा सोको सूचीकरण गर्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम जारी गरिएको प्रमाणपत्र अभिलिखित गरिएको अभिलेखालयमा प्रकाशित गर्नु पर्नेछ ।
(५) प्रमाणपत्र जारी गरिसकेपछि त्यस्तो प्रमाणपत्रको वैधता वा विश्वसनियतामा असर पर्न सक्ने कुनै कुराको जानकारी प्रमाणीकरण गर्ने निकायले पाएमा प्रमाणपत्र प्राप्त गरेको ग्राहकलाई तत्काल सोको जानकारी गराउनु पर्नेछ ।
(६) उपनियम (१) बमोजिम जारी गरिएको प्रमाणपत्रको वहाल अवधि सो प्रमाणपत्रमा उल्लेख भए बमोजिम हुनेछ ।